दफा ११ख
फर्म खारेज गर्न सक्ने
: (१) देहायको अवस्थामा यस ऐनबमोजिम दर्ता भएको फर्म सम्वन्धित विभागले खारेज गर्न सक्नेछ
(क) वाणिज्य व्यवसायको लागि दर्ता भएको फर्मले तोकिएको अवधिभित्र नवीकरण नगराएमा,
(ख) साझेदारहरुले मुनासिब कारण दर्शाई फर्म खारेज गरी पाउँ भनी सम्वन्धित विभागमा निवदेन दिएमा,
(ग) सम्वन्धित विभागले दफा ११ क बमोजिमको विवरण माग गर्दा सम्वन्धित फर्मले तोकिएको अवधिभित्र सो विवरण पेश नगरेमा,
(घ) उद्योगसम्वन्धी फर्मले कार्य सञ्चालन गरी सम्वन्धित विभागलाई जानकारी दिई वा नदिई उद्योग बन्द गरेमा,
(ङ) उद्योगसम्वन्धी फर्मले नवीकरण गर्ने म्याद समाप्त भएको मितिले तोकिएको अवधिभित्र नवीकरण नगराएमा वा नवीकरण गराएर पनि इजाजतको शर्त अनुसार उद्योग स्थापना र सञ्चालनको गर्नको लागि कारखाना निर्माण, मेशिनरी औजार, उपकरणको खरीद वा उद्योग सञ्चालनको लागि आवश्यक कार्य गरेको लिखित प्रगति विवरण सम्वन्धित विभागमा नदिएमा, वा
(च) फर्मले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको विपरीत हुने गरी अन्य कुनै काम गरेमा ।
(२) उपदफा (१) को खण्ड (क), (ग), (घ), (ङ) वा (च) बमोजिम सम्वन्धित विभागबाट फर्म खारेज गर्नु अघि सम्वन्धित फर्मलाई सबूद पेश गर्ने उचित अवसर दिनु पर्नेछ ।
(३) उपदफा (१) को खण्ड (क), (ग), (घ), (ङ) वा (च) बमोजिम सम्वन्धित विभागबाट फर्म खारेज भएमा त्यसरी खारेज भएको फर्मका साझेदारहरुको नाममा एक वर्षसम्म सोही उद्देश्य भएको अर्को फर्म दर्ता गरिने छैन ।